डोटी , भाद्र २९ -
उधारो रकम असुलीका लागि गएका दिपायल, पिपल्लाका एक व्यापारीको हत्या गरी रूखमा झुन्ड्याएको शव फेला परेको छ । भारतीय मूलका दिपायल पिपल्लाका व्यापारी सुरेन्द्र भुर्जीकोे शव कालिकास्थानको मौवागाउँको जंगलमा बुधबार फेला परेको हो । हत्यामा संलग्न आशंकामा प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
मंगलबार उनी रकम असुलीका लागि गाउँ गएको पारिवारिक स्रोतले जनाएको छ । स्थानीय महिलाले गोेरु चराउने बेला बुधबार भुर्जीको शव रूखमा झुन्डेको अवस्थामा देखेपछि घटनाबारे जानकारी पाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ताको कमान्ड एक टोली घटनास्थलतर्फ पठाएको छ ।
पोस्टमार्टममा संलग्न जिल्ला अस्पतालका डा. राजकुमार भट्टराईका अनुसार मृतकको तिघ्रामा धारिलो हतियार प्रहार गरिएको तथा हात र टाउकाको हड्डीसमेत भाँचिएको छ । उनको सुनियोजित हत्या गरिएकोे हुन सक्ने मृतक भुर्जीका आफन्त सुरेश भुर्जीले बताए । कपडाले कसेर आत्महत्याको घटनाजस्तो देखिने गरी शवलाई रूखमा झुन्ड्याएर राखेको डोटी उद्योग वाणिज्य संघका उपाध्यक्ष सोपान बोहराले बताए । डोटी उद्योग वाणिज्य संघले हत्याको विरोध तथा शोकमा बिहीबार दिपायलको पिपल्ला बजार बन्दको आह्वान गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य संघले हत्याराको खोजी गरी तत्काल पक्राउ गर्न प्रशासनलाई आग्रह गरेको छ । दुई छोरी र दुई छोराका बाबु भुर्जी सुरुमा खाद्यान्नको कारोबार गर्दै आएको भए पनि पछिल्लो समय ठेलामा चटपटे बेच्दै परिवार पाल्दै आएका थिए ।