एमालेले आयोग बनायो

 ktm ------ एमाले केन्द्रीय कमिटी वैठकले पत्रकार खिलानाथ ढकालमाथि भएको कुटपिट र त्यस घटनापछि युवा संघका अध्यक्ष महेश वस्नेतले दिएको अभिब्यक्तिका विषयमा छानविन गर्न उपाध्यक्ष अशोक राईको नेतृत्वमा आयोग गठन गरेको छ। यसअघि भदौ ५ गतेको वैठकले छानविनको जिम्मा राईलाई दिएको थियो भने शुक्रवारको केन्द्रीय कमिटी वैठकले तीन जना सदस्य थप गरी आयोगको रुप दिएको हो।  आयोगमा उपाध्यक्ष विद्या भण्डारी र केन्द्रीय सदस्यहरु राजेन्द्र गौतम र योगेश भट्टराई थप भएका हुन्। केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार आयोगलाई घटनाको विषयमा छानविन गरी असोज २६ गतेको केन्द्रीय कमिटीको वैठकमा प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ। 
शुक्रवार सम्पन्न केन्द्रीय कमिटी वैठकले पार्टीका जनवर्गीय संगठन तथा पार्टी सम्बद्ध संगठनहरुको कार्यक्षेत्रको सम्बन्धमा देखिएको अस्पष्टता र दाहोरोपनको समस्याका विषयमा संगठन विभागलाई प्रस्ताव तयार पारी स्थायी कमिटीमा प्रस्तुत गर्न निर्देशन दिएको छ। त्यस्तै वैठकले पार्टी विधान संशोधन र संविधानसभा-संसदीय बोर्ड गठन सम्बन्धमा पार्टीको विधानको आधारमा दलको विधान तयार गरी असोज २६ गते वस्ने केन्द्रीय कमिटीको अर्काे बैठकमा छलफल गर्ने निर्णय भएको सचिव युवराज ज्ञवालीले जानकारी गराएका छन्। 
शुक्रवारको बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीभित्रको अनुशासन सम्बन्धी विषय, आर्थिक विभाग प्रमुख युवराज ज्ञवालीले पार्टीको आर्थिक स्थितिको विषय र केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पुष्पराज कँडेलले पार्टीको लेखा परीक्षण सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। यसअघि वैठकले राष्ट्रिय प्रतिनिधी परिषदको भेला मंसीर २३ देखी २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। त्यस्तै एकीकृत माओवादी र मधेशी मोर्चावीच भएको चार वुँदे सहमति राष्ट्रिय स्वाधिनताको प्रतिकुल भएको भन्दै खारेज गर्न माग पनि गरेको थियो।